पोखरा - गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङले पत्रकारलाई कुट्नुपर्ने भनि दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ।
यातायात व्यवसायीहरुको आन्दोलनका क्रममा पत्रकारमाथि भएको कुटपिटको विषयलाई लिएर कानून कार्यान्वयनको जिम्मेबार तहमा बसेका मन्त्रीबाट नै अर्को पत्रकार कुट्नुपर्ने भन्दै आएको अभिव्यक्तिले सबै पत्रकार असुरक्षित भएको महसुस भएको महासंघले जनाएको छ। मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रकै विरुद्धको यो अभिव्यक्ति प्रति महासंघले खेद प्रकट गरेको छ।
आइतबार बिहान यातायात व्यवसायीको आन्दोलनका क्रममा पत्रकार विनु थापा र सुरज थापा माथि सांघातिक आक्रमण भएको थियो। उक्त आक्रमणको विषयमा पत्रकारलाई नै दिएको प्रतिक्रियामा मन्त्री गुरुङले आफूले गञ्जी लगाएको तस्बिर सार्वजनिक गरेको भन्दै अनलाइन खबरका गण्डकी व्युरो प्रमुख अमृत सुवेदीलाई आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिएका हुन्। जिम्मेवार मन्त्रीले दिएको यो अभिव्यक्तिले ‘गण्डकी प्रदेश सरकारको पत्रकार प्रतिको दृष्टिकोण नै सार्वजनिक भएको त होइन?’ भन्ने प्रश्न उब्जिएको महासंघले जनाएको छ।
महासंघले यस्तो अभिव्यक्ति दिने मन्त्री उपर कारबाही गर्दै कानूनी राज्यको प्रत्याभूति दिन गण्डकी प्रदेश सरकारसंग जोडदार माग गरेको छ। साथै, पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण प्रदान गर्न गण्डकी प्रदेश सरकारसंग महासंघले आग्रह गरेको छ।
महासंघका महासचिव गोविन्द प्रसाद सुवेदीले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।