काठमाडौँ - काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ।
दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाज पोखराका लागि उडेको जानकारी दिए। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको अधिकारीहरुले बताएका छन्।
जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ लागेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
‘जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप आउने क्रममा छ’, ती अधिकारीले भने । विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ ।
दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।
९एन–एएमई जहाजमा १९ जना सवार थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।