बुटवल - लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ।
कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरेको हो। तर, यसप्रति संस्थापन इतर पक्षले तीव्र असन्तुष्टि जनाएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ। शपथ ग्रहणमा सहभागी हुन नेता कार्यकर्ताहरु बुटवलमा भेला भएका छन्।
कांग्रेसबाट कोको बन्दैछन् मन्त्री ?
लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लगायतका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटेर मन्त्रीहरुको नामावली टुंगो लगाएका थिए।
स्रोतका अनुसार कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम करिब–करिब फाइनल भएको छ। न्यौपाने बाहेक ४ जना संस्थापन समूहका हुन्।
मन्त्री बन्न लागेकाहरुमा प्यूठानका थापा दोहोरिन लागेका हुन् भने अरु सबै नयाँ अनुहार हुन्। थापा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । थापा डिल्लीबहादुर चौधरीको पालामा उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।
प्रदेश समितिसँग सल्लाह नै नगरी मन्त्री बन्नेहरुको नामावली टुंगो लगाइएको भन्दै संस्थापन इतर पक्षका नेताहरुले आजको शपथ ग्रहण कार्यक्रममा सहभागी नहुने बताएका छन्। यद्यपि संस्थापन इतरका प्रचण्डविक्रम न्यौपाने पनि प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि मन्त्री बन्नेहरुको नाम छनोट गर्दा प्रदेश समितिसँग सल्लाह र समन्वय नभएको बताए। ‘क–कसलाई मन्त्री बनाउँदैछन्, मलाई कुनै जानकारी छैन,’ पुनले भने।
संविधानले तीन तहका सरकारको मान्यता दिएपछि सोही अनुसार पार्टी समितिहरु पनि तीन तहमै निर्णय गर्न स्वायत्त हुनुपर्ने भन्दै उनले केन्द्रबाट मनोमानी भएको बताए।
केन्द्रको मनोमानी हुने भए प्रदेश संरचना खारेजीको बाटोमा जानुपर्ने उनले बताए। ‘प्रदेश समितिलाई बाइपास गर्ने हो भने संघीयता किन ल्याएको हो ? सिंगो प्रदेश संरचना खारेज गरे हुन्छ,’ उनले भने।