काठमाडौं - परराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो। विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
तत्काल कुनै थप सहयोग आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सकिनेछ। त्यसका लागि अभिभावक र आफन्तले जुनसुकै समयमा दूतावासमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ।
दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया केसीलाई सम्पर्क व्यक्ति तोकिएको छ। बम्जनलाई +८८०१८८०६९१०१३ र रियालाई +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
यसअघि दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको थियो।
बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन्। आन्दोलनका क्रममा मानवीय क्षति बढ्दै गएको छ।