काठमाडौं। नेपाली कांग्रेसमा छिन्नभिन्न भएको कोइराला परिवारलाई एकजुट गराउने प्रयास सुरु भएको छ।
त्यसक्रममा केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी सभापतिमा डा. शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन्।
१४औं महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य (डा. शेखर, शशांक र सुजाता) अलग-अलग भएका थिए। लामो समय साझा उम्मेदवार दिने बताएका उनीहरू पछि तीनतिर भएका थिए।
डा. शेखरले सभापतिमा उम्मेदवारी दिँदा सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवारी बनिन् भने केन्द्रीय सदस्य मात्र लडेका शशांकले पनि समर्थन गरेनन्।
त्यसयता कोइराला परिवारका तीन सदस्य एकठाउँमा देखिएका छैनन्। तर १५औं महाधिवेशनमा सभापति लड्ने तयारीमा रहेका डा. शेखरले भाइ बहिनीको साथ खोजेका हुन्।
त्यसक्रममा सुजाता शुक्रबार डा. शेखरको सम्पर्क कार्यालयमा पुगिन्। उनले अब कोइराला परिवार एक ढिक्का हुने बताइन्। डा. शेखरले लिएको लिडरसिपलाई आफूले समर्थन गर्ने भन्दै उनले भनिन्, यही ठाउँमा शशांकलाई पनि ल्याउँछौं र ल्याउनुपर्छ।’
डा. शेखरले पनि कोइराला परिवार एक हुने बताए। ‘१५औं महाधिवेशन आउन थाल्यो, त्यसलाई ध्यान दिएर अगाडि बढ्नुस्’ समर्थकलाई एक हुन आग्रह गरेका उनले भने, ‘मेरो सुजाताजीसँग पहिले पनि कुराकानी भइरहेको छ, हामी एकै ठाउँमा छौं। पहिले पनि उभिएका थियौं, कहिले काँही तलमाथि हुन्छ। त्यो मिलाउने जिम्मा हाम्रो हो।’