चितवनको भरतपुर महानगरपालिका– २९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोस्ट’ (बिओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहवरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । याेसहित दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्यांकअनुसार आज बिहान १०:५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।
भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह र २७ वर्षीय विवेक कुमार, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको शव सनाखत भई आफन्तले बुझेका छन् ।
चितवनको माडी नगरपालिका– १ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरथहवा नगरपालिका– ३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका– २२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर गाउँपालिका– ६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटको चन्द्रपुर नगरपालिका– १० का बसचालक ४३ वर्षीय किशोरकुमार चौधरीको शव सनाखत भएको छ ।
रौटहटको गरुडा नरपालिका– ९ का नौ वर्षीय अशोककुमार यादव, रौतहटको परोहा नगरपालिका– ६ का ४० वर्षीय ऋषिकुमार सिंह, सर्लाहीको रामनगर गाउँपालिका– ३ का जितेन्द्रराम महरा, पर्साको सखुवा प्रसौनी गाउँपालिका– २ की २८ वर्षीया चन्द्रप्रभा कुमारीकाे सनाखत भएकाे छ ।
थापाका अनुसार शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् । गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरकाे बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका थिए ।