भारतीय स्टार क्रिकेट अलराउण्डर हार्दिक पाण्ड्या र उनकी पत्नी नताशा स्टैंकोविकले सम्बन्धविच्छेदको घोषणा गरेका छन्। बिहीबार इन्स्टाग्राममा एक पोस्टमार्फत उनीहरुले आपसी सहमतिमा अलग हुने घोषणा गरेका हुन्। केही महिनादेखि यस चर्चित जोडीको सम्बन्धमा फाटो आएको हल्ला थियो, र बिहीबारको घोषणासँगै यसलाई औपचारिक रूपमा पुष्टि गरिएको छ।
हार्दिक पछिल्ला केही वर्षदेखि भारतीय क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी रहेका छन् भने सर्बियाकी नताशा चलचित्रमा काम गर्ने अभिनेत्री हुन्। उनीहरू जनवरी २०२० मा इन्गेज भएका थिए र चार वर्षीय छोरा अगस्त्यका अभिभावक हुन्।
बिहीबारको संयुक्त इन्स्टाग्राम पोस्टमा, हार्दिक र नताशाले लेखेका छन्, ‘‘चार वर्ष सँगै बिताएपछि, नताशा र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं। हामीले सँगै हरेक सम्भव प्रयास गर्यौं र आफ्नो तर्फबाट सबै कोशिश गर्यौं, र हामीले विश्वास गर्छौं कि यो निर्णय हामी दुवैको लागि सबैभन्दा राम्रो हो। यो निर्णय हामीलाई लिन गाह्रो भयो, विशेषगरी सँगै बिताएका खुसीका क्षणहरू, आपसी सम्मान र सहकार्यलाई ध्यानमा राख्दै।’’
उनीहरूले थपे, ‘‘हामीलाई अगस्त्यको आशीर्वाद छ, जो हाम्रो जीवनको केन्द्रमा रहनेछ र हामी सँगै अभिभावकत्वको जिम्मेवारी लिनेछौं ताकि हामी उसलाई हरेक खुसी दिन सकौँ। यो कठिन र संवेदनशील समयमा हामी तपाईंको समर्थन र साथका लागि अनुरोध गर्दछौं ताकि हाम्रो गोपनीयता कायम राख्न सकियोस्।’’
यसअघि, यो जोडी सक्रिय रूपमा सँगै रहेका तस्वीरहरू पोस्ट गर्थे। अचानक, केही महिनादेखि यस्तो गतिविधि पूर्ण रूपमा रोकिएको थियो। नताशा पहिले आईपीएल खेलहरूमा हार्दिकलाई समर्थन गर्न जान्थिन्, तर आईपीएल २०२४ मा यस्तो देखिएन। यसले दुईबीच अलग हुने हल्ला सुरु गर्यो। बिहीबारको घटनाक्रमले यसलाई पुष्टि गरिदिएको छ।