चितवन - सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ।
भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो। शवको सनाखत हुन बाँकी छ। शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ।
योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ। जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन्।
गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो। ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो। नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ।
शशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाका विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरे पनि घटना भएको ७ दिनसम्म पनि बस फेला पार्न सकेका छैनन्।
वीरगञ्जबाट २७ यात्रुसहित काठमाडौं जान आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाण्डौंबाट ३८ यात्रु लिएर रौतहटको गौर जान आउँदै गरेको बा ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको थियो। बस पानीमा खसे पछि ३ जना यात्रु भने पौडिएर बाँच्न सफल भएका थिए।