मकवानपुर प्रहरीले हत्या मुद्दाका एक फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– १ स्थित नयाँ गाउँका ६१ वर्षीय सन्तबहादुर वाइबा छन्।
हत्या अभियोगमा सर्वोच्च अदालतबाट १६ वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाइएका वाइबालाई २० वर्षपछि पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
अदालतले कैद र दण्ड–जरिवाना तोकिएका, तर फरार रहेका अभियुक्तहरूको खोजी गर्ने क्रममा वाइबालाई घरबाटै पक्राउ गरिएको प्रवक्ता भण्डारीले बताए ।
प्रवक्ता भण्डारीका अनुसार वाइबाले ३ जेठ ०६१ मा काठमाडौं महानगरपालिका– ३५ का ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई कुटपिट गरी निजको साथमा रहेको नगद ५० हजार लुटेर भिरबाट लडाइ हत्या गरी फरार भएका थिए । तरकारी व्यापारको निम्ति मार्खु आएका वेला वाइबाले पराजुलीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।
वाइबालाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७० मा कैद र जरिवानाको सजाय सुनाएको थियो।