काठमाडौं - काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएको थियो । पार्किङ हटाएपछि महानगरले पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरिसकेको छ ।
स्थानीयले ‘नयाँ सडक बचाऔं’, ‘न्युरोड साँघुरो गर्न पाइँदैन’ जस्ता नारा लेखिएका तुल बोकेर न्युरोड गेटदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।स्थानीयले न्युरोड गेटबाट जुद्ध शालिकसम्म दायाँबायाँ उभिएर महानगरले निर्माण गर्न लागिएको फुटपाथको चौडाइको आकार बनाएका छन् ।
स्थानीय दायाँबायाँ उभिएको बीच भागमात्र अब सडक बन्ने र त्यसउता फुटपाथ बनाउन लागिएको भन्दै प्रदर्शन गरिरहेका हुन् । चालु आर्थिक वर्षको बजेटबाट यो न्यूरोडको फुटपाथ बढाउन बजेट महानगरले छुट्याएको थियो ।
महानगरका अनुसार यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०८० सालको असोज २१ गते स्वीकृत भएको हो । यसका आधारमा ८ मंसिर २०८० मा बोलपत्र आह्वान भएको थियो । यसका लागि ७ वटा निर्माण कम्पनीले भाग लिएका थिए ।
करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको कामका लागि करिब २ करोड ५६ लाख रुपैयाँ (२०.११ प्रतिशत) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्यांकन समितिले ६ वैशाख २०८१ मा छनोट गर्यो ।
छनोट भएको निर्माण पक्षलाई सार्वजनिक निर्माण विभागले ३ जेठ मा कार्यादेश दिएको थियो । महानगरको सार्वजनिक विभागका अनुसार न्युरोड, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिला हुनेछन् । यी क्षेत्रहरू महानगरको वडा नम्बर २२, २३ र २४ मा पर्छन् ।