काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ, इक्यानको आयोजनामा आज काठमाडौंमा एडुक्लेभ सम्पन्न भएको छ । एडुक्लेभको दोश्रो संस्करणमा ज्ञान अर्थतन्त्र र नेपालको उद्यमशीलता पहिचान विषयमा वक्ताहरुले आ–आफ्ना धारण प्रस्तुत गरे।
उनीहरुले मुलुकमा शैक्षिक जनशक्तिहरुका लागि अवसर सृजना गरेर विदेशीएका युवाशक्तिलाई स्वदेश फर्काउनुपर्नेमा विशेष जोड दिए।
बहसमा बोल्दै एडुक्लेभमा सहभागी पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सुचना एवम् प्रविधि क्षेत्र युवाहरुहरुको लागि रोजगारीको माध्यम बनेको जिकिर गरे। यस क्षेत्रमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउदै आफूँ सरकारमा रहँदा सुचना प्रविधी क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट छुट्याएको जानकारी दिए। राजनितीक अस्थिरता नै युवाहरु पलायन हुनुको प्रमुख कारकतत्व रहेको उनको ठम्याई छ।
प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले युवाहरू विदेश जानुलाई नकारात्मक रूपमा लिन नहुने बताए। उनले युवा पलायन हुनु गलत भए पनि अध्ययन र रोजगारीका लागि जानुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।
नेता झाले नेपालले विदेश गएका युवाबाट मुनाफा लिन नसकेको जानकारी दिए। एनआरएनलाई राजनीतिकरण गर्नाले पर्याप्त फाइदा लिन नसकिएको झाको भनाइ थियो। झाले समेत आईटीबाट नेपालले पर्याप्त फाइदा लिनुपर्ने कुरामा जोड दिए। उनले पर्यटनले भन्दा आईटीबाट देशमा बढी रोजगारी लिन सकिने बताए।
नेपाल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आफूहरूले युवालाई स्वदेशमा राख्न स्थानीय उत्पादन प्रयोगमा बढावामा दिएको जानकारी दिए। उनले युवालाई उद्यममा जोड्न उद्यम प्रतिस्पर्धा समेत कार्यक्रम अघि बढाइरहेको बताए।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले लगानी र पानी उस्तै विषय रहेको बताए। उनले पानी पनि तलतिर बग्ने लगानी पनि तल नै बग्ने उदाहरण दिए। उनले देशमा लगानी गर्न नीतिगत सुधार हुनुपर्ने सुझाव दिए।