वीरगंज - बाराको परवानीपुर गाऊँपालिका कार्यसम्पादन मुल्यांकनको अधारमा प्रदेश मै उत्कृष्ट पालिका भएको छ ।
प्रदेश नम्बर २ को ५९ वटा गाऊँपालिका, ७३ वटा नगरपालिका ३ वटा उपमहानगरपालिका र एकवटा महानगरपालिका गरी १ सय ३६ वटा पालिका मध्ये परवानीपुर गाऊँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्यांकन अनुसार कुल ६६.४७ अंक ल्याएर मधेश प्रदश मै उत्कृष्ट पालिका भएको हो ।
स्थानीय तह स्रोत परिचालन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मुल्यांकन अनुसार स्तरीय कार्यगरी नतिजा दिन सकेकाले प्रदेशमा उत्कृष्ट भएको परवानीपुर गाऊँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले बताए । उनका अनुसार आयोगले निर्धारण गरेको सुचकमा मात्र केन्द्रित नभई जनताको आवश्यक्ता र समग्रमा बजेट बाडफाड, कार्यन्वयन, शिक्षा, स्वास्थ्य लगायतमा विशेष प्राथमिकता दिएकाले नतिजा आएको हो । कतिपय विषयवस्तुमा काम भइरहेकै अवस्थामा समेत मुल्यांकन गरिएकाले प्रतिशत बढ्न सकेन तरपनी प्रदेश मै राम्रो ग¥यो सबैका लागी खुशीको कुरा हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग हरेक वर्ष स्थानीय तहले गरेको कार्यको मुल्यांकन गर्दै त्यसका अधारमा विभिन्न १७ वटा सुचकको अधारमा मुल्यांकन गर्दै आएको छ । मधेश प्रदेशको १ सय ३६ पालिकाको नतिजा अनुसार उत्कृष्ट पाँचमा बारा र सप्तरी जिल्लाको २/२ वटा पालिका र पर्साको एकवटा पालिका परेका छन् ।
जसमध्ये बाराको परवानीपुर गाऊँपालिका ६६.४७ अंकले पहिलो, सप्तरीको सुरुङ्गा नगरपालिका ६६.०२ ले दोस्रो, बाराकै कलैया उपमहानगरपालिका ६४.९३ अंकले तेस्रो त्यस्तै पर्साको ठोरी गाऊँपालिका ६४.१४ अंकले चौथो र सप्तरीको सप्तकोशी नगरपालिका ५८.८४ अंक ल्याएर पाँचौ उत्कृष्ट पालिका भित्र परेका छन् ।
मधेश प्रदेशको उत्कृष्ट पाँच पालिका मध्येले प्रायःले बजेट विनयोजन, खर्च व्यवस्थापन, बेरुजु फर्छौट शिक्षा र स्वास्थ्यको मापदण्डलाई प्राथमिकतामा राखेको परवानीपुर गाऊँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले बताए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बजेट बाडफाड कार्यन्वयन, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको अवस्था लगायतको मुल्यांकन गर्ने गर्दछ । जसमा राजश्व र व्यायको अनुमान, समयसिमा भित्रै गाऊँसभाबाट पारित, प्रक्षेपण गरेअनुसार अर्थमन्त्रालयमा पेश गरे नगरेको त्यस्तै विनियोजित रकम अनुसार खर्चको व्यवस्थापन, लेखापरिक्षणबाट औल्याएको बेरुजुको अवस्था, विद्यार्थी भर्ना, टिकाउ दर, स्तरवृद्धि, गर्भजाँच तथा महिलाको अनुपात तथा बालबालिकाको खोप लगायतको सुचक मुल्यांकन गर्ने गर्दछ ।


