काठमाडौं ।भारतीय नम्बर प्लेटको गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद भएको छ। सुनसरी प्रहरीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडीबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो।
आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए।
नक्कली नोटसहित प्रहरीले १ जना भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा गाडीका चालक भारतको वीरपुर घर भएका २२ वर्षीय मोहमद सैयद छन्। गाडीमा सवार अर्का व्यक्ति भने फरार भएका बताइएको छ। नक्कली नोटसँगै बरामद गाडी र चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।