काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी बुधबार छुट्दैछन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेश अनुसार आज छुट्ने भएका हुन् ।
अदालतले बिहीबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न भनी सोमबार दुई दिन म्याद थप्ने आदेश दिएको थियो ।बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीमाथि अनुसन्धानका लागि थप दुई दिन थुनामै राख्न अनुमति दिएको हो । दुई दिन थुनामा राखेर अनुसन्धान सक्न र नसकिएमा हाजिर जमानीमा छाडेर अनुसन्धानको बाँकी काम पूरा गर्न भनेको हो ।