काठमाडौँ । दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल दिउँसो १ः४५ देखि इस्ट लण्डनस्थित बफेलो पार्कमा हुनेछ ।
नेपालले अघिल्लो दुई खेल पनि यही मैदानमा खेलेको थियो । नेपाल उक्त दुवै खेलमा पराजित भयो । समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनको हार बेहोर्यो ।
यस्तै, नेपाल दोस्रो खेलमा पाकिस्तानविरुद्ध ५ विकेटले पराजित भयो । यता अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग १८१ रन तथा दोस्रो म्याचमा न्यूजिल्याण्डसँग एक विकेटले स्तब्ध भयो । समूह चरणको अन्तिम खेलमा नेपाल र अफगानिस्तान जित्नैपर्ने दबाबमा छन् ।
साथै, शुक्रबार वर्षाले खेल रद्द भएको अवस्थामा नेपालले सुपर सिक्समा स्थान बनाउने समीकरण बनेको छ । किनकी अंक तालिकामा अफगानिस्तानभन्दा नेपालको नेटरनरेट राम्रो छ । अहिले नेपाल तेस्रो तथा अफगानिस्तान चौथो स्थानमा छ ।