काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।
कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र ओमानले एउटै लक्ष्य राखेका छन् । दुवै टोली लगातार दोस्रो खेलमा जित निकाली शीर्ष स्थान बलियो बनाउने प्रयासमा रहनेछन् । त्रिविको घरेलु मैदानमा नेपाल दुई महिनायता अपराजित छ । यसै मैदानमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमानलाई दुई खेलमा हराएको थियो ।
विश्वकप लिग–२ को उपविजेता ओमानले पछिल्ला हारको बदला लिने प्रयास गर्नेछ । नेपाल पुनः एकपटक घरेलु मैदान र समर्थकको साथमा ओमानमाथि हावी हुने योजनामा हुनेछ । प्रिमियर कपको मंगलबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो ।
मलेसियाले राखेको दुई सय ३५ रनको लक्ष्य नेपालले ३६.२ ओभरमै पूरा गरेको थियो । ओमानले पहिलो खेलमा बुधबार नै कतारलाई ४० रनले हराएको थियो ।
नेपाली खेलाडी लगातार खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ब्याटिङ, बलिङ र फिल्डिङमा नेपाली खेलाडीले एकनासको प्रदर्शन गरेका छन् । नेपालका कप्तान रोहितकुमार पौडेलले सहभागी टोलीलाई कमजोर रूपमा नलिने बताएका छन् ।