काठमाडौँ । फ्रान्समा सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरूविरुद्ध मजदुर र कर्मचारी संघसंगठनहरूले मंगलबारदेखि अनिश्चितकालीन हडतालको घोषणा गरेका छन् ।
मजदुर र कर्मचारी युनियनहरूले सरकारले निवृत्तिभरण विधेयक फिर्ता नलिएसम्म हडताल जारी राख्ने घोषणा गरेका छन् । अनिश्चितकालसम्म हडताल जारी राख्ने घोषणा गरिएकाले फ्रान्सको जनजीवन प्रभावित हुनसक्ने आकलन गरिएको छ ।
मंगलबारदेखि सुरु हुने अनिश्चितकालीन हडतालमा शिक्षक, ग्यास र विद्युतीय क्षेत्रका कामदारहरू, रेल कम्पनीका कर्मचारी, स्वास्थ्य क्षेत्रका कामदार र औद्योगिक क्षेत्रलगायत कामदारहरू सामेल हुने घोषणा गरिएको छ ।
शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, उद्योग र कलकारखानालगायत अधिकांश क्षेत्रका कर्मचारी संलग्न हुने भनिएकाले यो हडतालले राष्ट्रिय उथलपुथल मच्चाउने फ्रान्सेली अखबारहरूले लेखेका छन् ।
फ्रान्समा निवृत्तिभरण अधिकार सुधार गर्ने र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ वर्षसम्म पुर्याउने सरकारको योजनाविरुद्ध औद्योगिक कलकारखानाका मजदुरहरूले जनवरीदेखि नै पटक(पटक हडताल गर्दै आएका छन् । मंगलबारबाट सुरु हुने हडताल छैठौं पटकको हो।
तर‚ यसअघि गरिएका हडतालविपरीत सीएफडीटी र सीजीटीलगायत ट्रेड युनियनका श्रमिकहरूले औद्योगिक कारबाही जारी राख्ने कि नराख्ने भनेर प्रत्येक दिनको हडतालको अन्त्यमा मतदान गर्नेछन् ।
देशका प्रमुख मजदुर युनियनहरू सीजीटी र सीएफडीटीले नै अनिश्चितकालीन हडतालको घोषणा गरेकाले दैनिक जीवनमा व्यापक बाधा पुग्ने र अर्थव्यवस्थालाई गम्भीर रूपमा क्षति पुग्ने सम्भावना रहेको फ्रान्स न्युज २४ टीभीले सोमबार साँझ उल्लेख गरेको छ । केही मिडियाहरूले यो हडतालले सरकारलाई झुक्न बाध्य पार्न सक्ने समेत उल्लेख गरेका छन् ।