काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको प्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।
माओवादी केन्द्रले आइतबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको हो। जनयुद्ध, ६२/६३ को आन्दोलन र त्यसको जगमा भएको बृहत शान्ति सम्झौता लगायतका विरुद्धमा हुने कुनै पनि गतिविधिलाई माओवादीले अस्वीकार गर्ने विज्ञप्तिमा उल्लेख छ।
‘१० वर्षे महान जनयुद्ध, २०६२/६३ को दोस्रो जनआन्दोलन र त्यसको जगमा सम्पन्न भएको बृहत शान्ति सम्झौता, अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधानसभाको निर्वाचन तथा संविधानसभाबाट निर्मित संघियता, धर्मरिपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्र आधारभूत संरचनासहितको वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धीहरू विरुद्ध हुने कुनै पनि गतिविधिलाई यस दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अस्वीकार गर्दछ। त्यस्तो कार्यप्रति घोर भर्त्सना गर्दछ’, पार्टी महासचिव देवप्रसाद गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
