काठमाडौँ । राष्ट्रपति पदका उम्मेदवार मत माग्न व्यस्त देखिएका छन् । निर्वाचन आउन केहि दिन मात्रै बाँकी रहेका बेला राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ आफ्नो पक्षमा मत माग्न व्यस्त देखिएका हुन् ।
राष्ट्रपतिका उम्मेदवार पौडेलले सन्देशमार्फत प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरूसँग मत मागेका छन् ।
उनले पुनः औपचारिक पत्र पठाएर मत माग्ने बताए। संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग पनि संवाद गरिरहेको बताउँदै उनले भने, “मैले सबै माननीय सदस्यहरूसँग सम्पर्क गरिरहेको छु। सबैसँग मत मागेर सन्देश पठाएँ। अब पत्र पठाउँदै छु। संसद्का सबै राजनीतिक दलका नेतासँग छलफल गरेर मतदानमा सहयोग माग्दै छु।”
त्यसैगरी राष्ट्रपतिका अर्का उम्मेदवार नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँगको छलफल तीव्र पारेका छन्। बिहीबार दलको कार्यालयमै गएर मत माग्ने बताउँदै उनले भने, “सबै दलसँग छलफलमा छौँ। सबै मतदाता माननीयसमक्ष पुग्ने काम भइरहेको छ। बिहीबार कार्यालयमै गएर भेट्दै छौँ। देशव्यापी रूपमा फोन सम्पर्क गर्दै छौँ। भेला सम्मेलनको कार्यक्रम छैन, हामी भेटघाटमै केन्द्रित छौँ।”
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पौडेललाई समर्थन गरेका छन्।