काठमाडौँ । सरकारलाई समर्थन गरेका आठ दलीय गठबन्धन दलका संघीय सांसदहरुका लागि आज अभिमुखीकरण कार्यक्रम हुनेभएको छ ।
गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सांसदहरुका लागि राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।
आज दिउँसो १ बजे हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको छ । कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्यांक्वेटमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदैछन् ।
राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् ।नेकपा एमालेले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।
संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।