काठमाडौँ । आज (बुधबार) प्रदेश १ र लुम्बिनी प्रदेशसभाको बैठक बस्ने भएको छ । पहिलो प्रदेशसभाले थाती राखेर गएको प्रदेश १ को नामकरण बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने तयारी गरिएको छ ।
प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिका सदस्य कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले प्रदेशसभामा नामकरण प्रस्ताव हुने बताएका छन् ।
यस्तै लुम्बिनी प्रदेशसभाको छैठौं बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ‘मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन’ सम्बन्धी पत्रहरू पढेर सुनाउने, प्रदेशसभा सदस्यहरूले विशेष समयमा बोल्न, मुख्यमन्त्री लीला गिरीबाट मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सभामा पेश हुने, स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थीज्यूबाट स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश” सभामा पेश हुने कार्यसुचि रहेको छ।