काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्ने बताएका छन् । उनले खेलकुद क्षेत्रमा छुट्ट्याइँदै आएको बजेट वृद्धि गर्ने बताए ।
ललितपुरको च्यासल रङ्गशालाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार तथा खेलकुद कार्यक्रमका लागि हालको बजेटलाई गुणात्मक रुपले वृद्धि गरी आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिने उल्लेख गरे ।
“पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुदलाई स्वाथ्यको लागि र राष्ट्रका लागि मात्रै हैन, अर्थतन्त्रका लागि, कूटनीतिका लागि, राजनीतिका लागि र अन्तर्राष्ट्रिय भाइचाराका लागि महत्व दिन आवश्यक ठानेर अगाडि बढेको थिएँ । दोस्रो कार्यकालमा प्रत्येक गाउँ र विद्यालयमा खेलकुदलाई संस्थागत गर्ने प्रयास गरेको थिएँ”, उनले भने, “अहिलेको कार्यकालमा पनि खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेको छु । मैले राजनीतिबाहेक खेलकुद र कलाकारितालाई अलि बढी नै महत्व र प्राथमिकता दिने गरेको छु । मेरो रुचिको क्षेत्र पनि हो ।”
प्रधानमन्त्री दाहालले पहिलोपटक प्रधानमन्त्री भएर अगाडि बढ्दा देशैभर खेलकुद क्षेत्रलाई संस्थागत गर्ने तथा देशव्यापी बनाउने कुरामा विशेष ध्यान दिएको र दशरथ रङ्गशालालाई पुनःनिर्माण गर्ने क्रममा चीन सरकारसँग कुरा गरेर विशेष योगदान गरेको स्मरण गरे ।
उनले आफूले राजनीतिक जीवनको महत्वपूर्ण समय च्यासलमा बिताएको उल्लेख गर्दै च्यासल रङ्गशाला समुद्घाटन गर्न पाउँदा गौरव महसुस भएको बताए ।