काठमाडौँ । कांग्रेस नेता गगन थापाले सबैले गल्ती बोध गरेपछि फेरि ५ दलीय पुरानो मोर्चा ब्युँतिएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पुरानो गठबन्धनले नै बहुमत ल्याउने गरी चुनावमा गए पनि गल्ती गर्दा पुरानो गठबन्धन टुटे पनि दुई महिनामा नै सबैलाई गल्ती महसुस भएको बताएका हुन् ।
सबैले गल्ती महसुस गरेर फेरि एक ठाउँमा उभिने अवस्था आएपछि अब केन्द्र र प्रदेशसमा ५ वर्षसम्मै मिलेर जानुको विकल्प नभएको उनले बताए ।
‘पुस १० गते गल्ती भएको भन्ने सबैलाई लागेको हो । खास गरिकन संसदको पहिलो बैठकमा शेरबहादुर देउवाले कुनै तीतो प्रसंग उठाउनुभएन । तर एमाले अध्यक्षले बोल्दा संसद विघटनको घटना सही थियो । संसद विघटन पटकटपटक हुन्छ भन्ने कुरा राख्नुभयो । त्यसपछि यो गठबन्धन टिक्दैन र राख्नुहुँदैन भन्नेमा पुगेका हौं’, थापाले भने, ‘दुई महिनापछि हामी फेरि एक ठाउँमा आएको छौं । अब पाँच दलको गठबन्धनको सरकार बन्छ । प्रदेशमा पनि पाँच दलको गठबन्धन सरकार बन्छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हामी हुन्छौं । अरूलाई दोष दिएर होइन काम नै गरेर देखाउनुपर्छ ।’
नयाँ सरकार बनेपछिको ५/६ महिनामा राम्रो काम गर्न सकेको आभाष नदिलाए गठबन्धनको अर्थ नहुने थापाले बताए।