काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।
देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । अरूभन्दा पौडेल योग्य उमेदवारभन्दै देउवाले ओलीसँग भोट मागेका छन् ।
सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाएका छन्। एमालेले पनि राष्ट्रपतिमा आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।
एमालेले भने कांग्रेसले आफ्नै उम्मेदवार उठाएको भन्दै कांग्रेस बाहेकका दलसँग मत माग्दै पत्राचार गरेको थियो।
यस्तो छ ओलीलाई देउवाको पत्र
श्री केपी शर्मा ओलीजी अध्यक्ष नेकपा एमाले
विषय : राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत् प्रतिस्पर्धाका लागि यही फागुन २५ गते हुने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यति बेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरूप आआफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौँ l लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जित हार मात्र होइन, हामी जान्दछौँ l यो अभ्यासले समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्छ l त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु र राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु l राष्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैँमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौँ l यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुन सकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यासको खोजी हुन्छ l विमतिबिच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबिच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ l यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईँ समेतसँग मत माग्नु र विमतिबिचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु l शालीन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधान प्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहहरू भन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ l संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रूपान्तरण तर्फ गतिशील ढङ्गले अघि बढ्नु हामी सबैको साझा दायित्व हो l यो दायित्व तपाईँ हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु l जय नेपाल
शेरबहादुर देउवा सभापति,
नेपाली काँग्रेस ०७९ फागुन १५