काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई धोका दिएको आरोप लगाएका छन्।
घाइते तथा शहीद परिवारको सम्मानमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले प्रचण्डले जसले प्रधानमन्त्री बनायो उसैलाई गम्भीर धोका दिएको आरोप लगाए।
प्रचण्डले आफूलाई मात्रै नभएर देश, जनता र सहयोद्धा दिएको ओलीको आरोप छ। उनले भने, ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो। मलाई धोका दिनु कुन ठूलो कुरा भयो र?’
प्रचण्डले अस्तिसम्म आफूसँग छक्याउने भाषा बोलेको आरोप ओलीले लगाए। ओलीले भने, ‘अस्तिको दिनसम्म मसँग छक्याउने भाषा बोल्नुभयो। तर, प्रचण्डजीलाई मैले नचिनेको होइन, हातमा चक्कु लिएर बस्नु भएको थियो, फूल लिएको भन्नुभयो। चक्कुजस्तो देखिएको होला, तर यो फूल हो भन्नुभयो।’
अध्यक्ष ओलीले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै बिरालोको उखान पनि सुनाए।
जनयुद्धबाट प्रचण्डको परिवारलाई फाइदा भएपनि देशलाई दुखेको उनले बताए।
ओलीले विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको लागि अक्षयकोष खडा गर्न दुई लाख रुपैयाँ दिने घोषणा गरे।