रुपन्देही । केन्द्रको नयाँ समीकरणले लुम्बिनी सरकार संकटमा परेको छ ।संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित ८ दलको नयाँ सत्ता समीकरण बनाएसँगै नेकपा एमालेले नेतृत्व गरेको लुम्बिनी प्रदेश सरकार डेढ महिनामै संकटमा परेको हो ।
प्रदेशमा ७ दलको समर्थनमा २७ पुसमा बनेको प्रदेश सरकारलाई समर्थन गरेको राप्रपा सरकार बाहिर जाने निर्णय लिइसकेको छ भने यो सरकारलाई समर्थन गरेर सत्तामै रहेको जसपा र जनमत तथा समर्थन गरेर विश्वासको मत दिएको नागरिक उन्मुक्ति र लोसपासमेत केन्द्र्रमा नयाँ समीकरणका लागि तयार भएपछि प्रदेश सरकार संकटमा परेको हो ।
राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ समीकरणसँगै सरकारमा सहभागी भएको राप्रपा दुई सातामै सरकारबाट बाहिरिने जनाउ दिइसकेको छ ।
लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी पुस २७ मा मुख्यमन्त्री बनेपनि माघ २८ सरकार बिस्तार भएको थियो । सोही दिन मात्रै राप्रपाका जानकीप्रसाद यादव, जनमतका सिके गुप्ता मन्त्री बनेका थिए भने जसपामा भण्डारीलाल अहिर एक साताअघि मात्रै मन्त्री बनेका थिए ।
सरकारलाई समर्थन र विश्वासको मत दिए पनि नागरिक उन्मुक्ति र लोसपा भने सरकारमा सहभागी भएका थिएनन् । ११ सदस्यीय मन्त्रीमण्डलमा एमालेका मुख्यमन्त्रीसहित ५, माओवादीका ३, जनमत, राप्रपा र लोसपाका एक एक मन्त्री बनेका थिए ।
केन्द्रमा पुरानो गठबन्धन ब्युँतिएपछि लुम्बिनीमा सरकार बनेको डेढ महिनामै सरकारलाई संकट आइलागेको प्रष्ट देखिएको छ । ८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको समर्थनसहित गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनीमा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा, नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत र लोसपाका ३–३ स्वतन्त्र २ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १र१ जना सांसद छन् । राप्रपाबाट जानकी प्रसाद यादव यहाँ मन्त्री छन् ।