काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरू गर्ने भएको छ ।आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि अहिले छलफल सुरु भएको हो ।
जसपामा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर आन्तरिक छलफल सुरु हुनाका साथै त्यसका लागि नेताहरूको लबिङसमेत हुन थालेको बताइएको छ ।
जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ भने दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा छ ।
जसपाका कार्यकारिणी सदस्यसमेत रहेका यादवले उपराष्ट्रपतिको उम्मेदवारबारे अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए।
८ दलीय गठबन्धनको सहमतिअनुसार आज कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्।यही फागुन २७ गते उपराष्ट्रपतिको उम्मेदवारी दिने समय तोकिएको छ । त्यसअघि नै उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउनुपर्ने हुन्छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ हुने भएको छ ।