काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रवार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् ।
शनिवार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्म जयन्तीको अवसरमा आयोजित “समसामयिक नेपाली राजनीति र निधिजीको विचार” विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “हिजो संसद्का आठ दलबिच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसद्को सबैभन्दा ठुलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठुलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसद्का अरू दलहरूबिच पनि समझदारीका साथ अगाडि बढेका छौँ। यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ। यो एक प्रकारले राष्ट्रिय सहमति नै हो।”
“नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र सङ्कटमुक्त छैन। लामो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा टरिसकेको छैन” प्रधानमन्त्रीले भने, “फागुन ७ गते संविधानले नचिनेका नारा लागे। त्यो गम्भीर कुरा छ। हिजो जसरी संसद् विघटन गरियो, संविधानमाथि आक्रमण गरियो। त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन। त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ, उभिएका छौँ।”
“मैले राष्ट्रिय सहमतिकै लागि कोसिस गरेँ। हिजो एमाले अध्यक्ष केपी ओलीजीसँग पनि तपाई र म मिलेर राष्ट्रिय सहमतिको राष्ट्रपति प्रस्ताव गरौँ भनेँ, तर सम्भव भएन” प्रधानमन्त्रीले भने, “संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्विकार्ने शक्तिहरूसँगको सहकार्य सहज हुँदैन, यही निष्कर्षका साथ फेरि हामी एक ठाउँ उभिएका छौँ। हामी प्राकृतिक कोर्समा फर्किएका छौँ। यो नै मुख्य कुरा हो।”
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शरदसिंह भण्डारी, बिमलेन्द्र निधि लगायतले महेन्द्रनारायण निधिको योगदानबारे चर्चा गरे।