काठमाडौँ । आठ दलीय सत्ता गठबन्धनको बैठक शनिबार दिउँसो बस्दैछ। राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो।
नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
नयाँ गठबन्धनले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको दिन हो।
राष्ट्रपतिको चुनावसँगै सत्ता गठबन्धन बदलिएको छ। कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहित ८ दलको नयाँ समीकरण बनेको छ।
यसअघि सरकारमा रहेको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ।