काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ।
उनीहरुबीच बिहीबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको थियो। भेटमा राष्ट्रपति निर्वाचन, पूरानो सत्ता गठबन्धन ब्युँताउनेलगायत समसामयिक विषयमा छलफल भएको छ।
उक्त छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी थिए।
बैठकपछि प्रचण्डले पाँचदलीय गठबन्धन ब्युँताउनेबारे छलफल भइरहेको तर निर्णय भइनसकेको बताए। प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए।
प्रचण्डले अबको राष्ट्रपति पदमा यही फागुन १३ गतेसम्म सहमति हुने बताए।
बैठकपछि नेपालले पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने विषयमा कुराकानी भएको बताए। उनले पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने विकल्प सबैभन्दा उत्तम रहेको प्रतिक्रिया दिए। उनले राष्ट्रपति को हुने भन्ने कुरो ठूलो नरहेको र राष्ट्रपतिको उम्मेदवार सहमतिमा हुने दाबी गरे।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरुसँग छलफल गरिरहेको तर गठबन्धन परिवर्तन गर्ने निश्कर्षमा पुगिनसकेको बताए।
पछिल्लो समय पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने विषयमा नेताहरुबीच कुराकानी भइरहेको छ। त्यसका लागि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायत राजनीति दलहरू छलफलमा छन्। त्यसबारे आज साँझसम्म सहमति हुनसक्ने सम्भावना छ।
नयाँ राष्ट्रपतिका लागि फागुन १३ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ।