काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को बुधबार बसेको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन सन्दर्भमा छलफल भएको छ।
आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेका बताए।
खनालले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए।
उनले भने, ‘हामीले भर्खँरै सचिवालय बैठक सम्पन्न गरेका छौँ। अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनुभयो। तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्ने बारेमा रिपोर्टिङ भएन। त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्ला मात्रै रहेछ।’ एकीकृत समाजवादीले यस सन्दर्भमा अन्य दलसँग छलफल गर्ने जनाएको छ।
उनले अहिले एमालेसँग पार्टी एकता हुने वा नहुने भन्ने बारेमा बोल्नुको कुनै अर्थ नहुने बताए। ‘अहिले मिल्दै मिल्दैन भन्न पनि मिलेन। फेरि मिलिहाल्छ भन्नका लागि पनि कुनै आधार तयार भएको छैन,’ उनले भने, ‘त्यसैले यसमा योभन्दा धेरै भन्नु परेन। बरु हामी परिस्थिति हेरेर सबै दलसँग संवाद गर्छौ, त्यसपछि निष्कर्षमा पुग्छौँ।’
पर्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।