देउखुरी। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्नेगरी ठोस प्रस्ताव अहिलेसम्म नआएको बताएका छन्।
दाङको भालुवाङमा पत्रकारसँग आज कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति बन्नेगरी ठोस प्रस्ताव अहिलेसम्म नआएको बताएका हुन्।
उनले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्ति सन्तुलनको रुपमा लिएको बताए। निर्वाचनमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ।
उनले भने, ‘अहिले हल्ला धेरै कोणबाट आए पनि मलाई राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैन, हाम्रो पार्टीले पनि राष्ट्रपतिको विषयमा टुङ्गो लगाइसकेको छैन।’
सधै त्याग गर्ने काम आफ्नो पार्टीबाट नहुने भन्दै उनले सञ्चार माध्यममा आएका विषय सबै साँचो हुन्छन् भन्न नसकिने बताए। पूर्व प्रधानमन्त्री नेपालले राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको विषयलाई उनले सबै कुरा पर्दा बाहिर ल्याउन नहुने बताए। उनले भने, ‘सबै कुराहरु पर्दा बाहिरै ल्याउनुपर्छ भन्ने छैन, केही कुरा पर्दाभित्रै रहन दिनुपर्छ, मैले र पार्टीले यस विषयमा निर्णय गरेको छैन।’
अध्यक्ष नेपालले देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताउँदै संविधानलाई जोगाउने कुरामा चनाखो बन्न समेत आग्रह गरे।