काठमाडौं। ग्याँस सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
उपचारमा संलग्न मुम्बईको नेशनल बर्नस् सेन्टरका चिकित्सकका अनुसार भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
भण्डारीको सबै स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको भाग घट्दै गएको छ। साथै, ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ भने ज्वरो पनि आएको छैन।
बुधबार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए।
सांसद भण्डारीको २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको थियो। सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको थियो। त्यसपछि उनलाई बिहीबार दिउँसो मुम्बई लगिएको थियो।
७० प्रतिशत शरीरको भाग जलेकी उनकी आमाको बिहीबार बिहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थियो।