काठमाडौँ, । प्रमुख सत्ता साझेदार दलका शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल चलिरहँदा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सहयोगका लागि औपचारिक रूपमै प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका कांग्रेस सभापति देउवासहित शीर्ष नेताहरूले राष्ट्रपति पदमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए । महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति पदको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति पदको निर्वाचनका सन्दर्भमा सरकार गठनलगत्तैदेखि पटक पटक छलफल भइसकेको छ ।
उनिहरूबीच सहमति कायम गर्नेगरी छलफल चलिरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि राष्ट्रपति पदका लागि आफ्ना उम्मेदवारलाई सहयोग गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको हो ।
बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले यस विषयमा पार्टीको पदाधिकारी बैठकमा छलफल गर्ने बताए ।