धनगढी । कैलाली कारागारमा रहेको प्रतिनिधि सभा सदस्य अरुण चौधरी आज रिहा हुने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचिमा कैलाली कारागारमा रहेका उनको नाम पनि समावेश रहेको कारागार स्रोतले जानकारी दिएको छ ।
कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीसहित अन्य चार जना पनि आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन् ।
१० बजे पछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ । जिल्ला कारागारमा रहेका सात जनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चार जनाको मात्रै सजाय माफी भएको छ ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।