काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले ३९५ कैदी बन्दीको कैद माफी मिनाहा गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा मिति फागुन ७ गतेदेखि लागू हुने गरी कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।
राष्ट्रपति भण्डारीबाट फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको जनाइएको छ ।

त्यस्तै, विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ऐन, २७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस २०७९ को उपलक्ष्यमा सजाय माफी भएको विज्ञप्तिमा उल्लेख छ ।
