काठमाडौं। सरकारले कैद सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
गृह मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद्ले सांसद चौधरीको बाँकी सजाय मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
त्यसअघि गृह मन्त्रालयले चौधरीमाथि लागेको कसुरको अवस्थाबारे महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो। महान्यायाधिवक्ताको कार्यालयले पनि आगजनीको कसुरमा बाँकी सजाय मिनाहा गर्न सकिने राय सरकारलाई दिएको थियो।
आगजनी मुद्दामा फरार रहेका सांसद चौधरी माघ १९ गते पक्राउ परेका थिए। हाल उनी जिल्ला कारागार कैलालीमा छन्।
सजाय मिनाहा भए चौधरीले सांसदको हैसियतमा काम गर्न पाउनेछन्। चौधरीसहित विभिन्न कारागारमा सजाय भुक्तानरत कैदीबन्दीलाई प्रजातन्त्र दिवसका अवसरमा माफी दिइँदैछ।
सम्बन्धित समाचारः सांसद चौधरीको रिटमा अन्तरिम आदेश जारी भएन
के हो घटना ?
२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए।
उक्त मुद्दामा चौधरीसहित पर्शुराम चौधरी र वीर बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।
दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो।