काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । उनीहरुबीच बिहीबार दुई घन्टाभन्दा बढी वार्ता भएको थियो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड र ओलीबीच राष्ट्रपतिको निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको छ।
साथै, भेटवार्तामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउनेलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
भावी राष्ट्रपतिबारे फरक फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेता वार्ता भएको हो। एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ।