धनगढी । कैलाली कारागारमा थुनामा रहेका प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिटमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेन ।
बुधबार भएको सुनुवाई पछि अन्तरिम आदेश जारी नहुने गरि आदेश जारी गरेको हो ।न्यायधिस देशबहादुर सार्की र न्यायधिस गणेश ठाकुरको इजलासमा भएको बहस पछि सो आदेश जारी भएको हो ।
कैलाली बार एशोसियसनको कक्षमा राखिएको श्रव्यदृष्य संवाद कक्षबाट चौधरीले बयान दिएका थिए । माघ २९ गते उच्च अदालतले कारागार कार्यालयमा थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा उपस्थित गराउन आदेश दिएको थियो ।
उच्च अदालतले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेश गर्न र चौधरीलाई बयान दिन बुधबार उपस्थित गराउन भनिएको थियो । ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।बयानपछि अदालतमा संचारकर्मिसंग बोल्दै न्याय पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिएका थिए ।