दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ । २०७४ फागुन ३ गते पहिलोपटक प्रदेशमा सरकार गठन भएको थियो । प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
प्रदेश सरकारले स्थापना दिवसमा प्रदेश पदक महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरेको छ भने विभिन्न समुदायको झाँकी सहितको कला संस्कृति प्रस्तुत गरेर दिवस मनाइएको छ । सो अवसरमा मुख्यमन्त्री लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जनताको नजिकको सरकारका रूपमा रहेको प्रदेश सरकार जनआकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए ।
संविधानले ३ तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यावहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको धारणा राखेका छन् ।
प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ । यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योग्दान पुर्याएको भन्दै विभूषित गरिएको हो । थापा घाइते समेत हुन् ।
मुख्यमन्त्री प्रज्वलदीप पदकबाट डा। मोहिउद्दिन किदवाई, डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ।प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न समुदायको कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको छ ।
पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरिएको छ । सो अवसरमा भूम्या झाँकी घोराही प्रथम भएको छ ।
नौमति बाजा नेपाल मगर सांस्कृतिक संघ राप्ती दोस्रो र वड्का नाच जागृति सांस्कृतिक राप्ती–७ तेस्रो भएको छ । झुम्रा नाच प्रस्तुत गर्ने शिव युवा क्लब लमही र नवप्रगतिशील युवा क्लब राप्ती सान्त्वना भएका छन् ।