काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन्। अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरे।
अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रुपमा रहेको उल्लेख गरे । उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखे ।अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशिल र एकताबद्ध सङ्गठन बनाउन आग्रह गरे ।एमाले महासचिव शङ्कर पोखरेलले नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्न विदेशी चलखेल भइरहेको आरोप लगाए।
एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्ववियु निर्वाचनसँग महाधिवेशन जोडिएकाले विद्यार्थीले जायज माग उठाउनुपर्ने बताए । एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्ष माधव ढुङ्गेलले नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । अखिल अध्यक्ष सुनिता बरालले महाधिवेशलाई विद्यार्थी आन्दोलनको रुपान्तरणको रुपमा लैजाने उल्लेख गरे ।
महाधिवेशन उद्घाटन समारोहमा अखिलका वरिष्ठ उपाध्यक्ष आरसि लामिछाने, नेपाल विद्यार्थी सङ्घका नेता दिनेश शाहीलगायतले आफ्नो धारणा राखेका थिए । ‘निशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार गुणस्तरीय शिक्षा, गतिशिल सङ्गठन र स्ववियु निर्वाचन, हाम्रो सरोकार’ नाराका साथ भइरहेको महाधिवेशनमा देशभरिबाट एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी छन् । महाधिवेशन सात वर्षपछि हुन लागेको हो । महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।