काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको बताएका छन्।
सरकारले सोमबार जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक बिदाको आलोचना भइरहेका बेला सांसदसमेत रहेको कांग्रेस महामन्त्री थापाले बिदा दिने क्रम सीमाहीन भएको बताएका हुन्।
उनले कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि बिदा दिने प्रचलनको विरोध जनाएका छन्।
उनले यसरी बिदा दिने कार्यलाई नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज रहेको र सार्वजनिक बिदाका नाममा अराजकता अति भएको उनको गुनासो छ।
यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिने थापाले बताएका छन्। नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित भएको उनको ठोकुवा छ।
उनले अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राख्नुपर्ने, सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाउन आग्रह गरेका छन्।
अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिनुपर्ने र यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिने उनले बताएका छन्।