धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेज राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसकेको बताएका छन्।
कैलालीको गेटामा रहेको निर्माणाधीन गेटा मेडिकल कलेजको आज स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने गरि मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको बताए।
प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेज सञ्चालन कार्यको तीव्रतासँगै राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको काम अघि बढेको बताए। मेडिकल कलेजसँगै स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना हुनु देशकै गौरव भएको उनले बताए।
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको विकासलाई आफूले सदैव प्राथमिकता दिएको उल्लेख गर्दै यसपटक समेत प्रधानमन्त्री बनेपछि आफूले सुदूरपश्चिमबाटै विकास आयोजनाको अनुगमन थालेको बताए।
त्यस क्रममा गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक एवं पूर्वाधार निमार्ण समितिका सदस्य सचिव हेमराज पुजाराले पूर्वाधारतर्फ करिब ८० प्रतिशत निमार्ण कार्य पूरा भएको जानकारी दिए।
हालसम्म २८ भवन निमार्ण भएको, दर्जन बढी भवन निमार्णको कार्य अन्तिम चरणमा पुगेको उनले बताए। भवन निमार्णमा करिब साढे ५ अर्ब खर्च भएको बताइएको छ।