काठमाडौं। सरकारले भोलि देशभर सार्वजनिक बिदा दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि फागुन १ गते जनयुद्ध दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि जनयुद्ध दिवसको अवसरमा कर्णाली, मधेस र बागमती प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरिसकेका थिए।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो। पृथ्वीजयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिएपछि पार्टी पंक्तिमा आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई जनयुद्ध दिवसमा पनि बिदा दिन सहकर्मीहरूको दबाब थियो।