काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन्।
आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं।’
२ महिने अभियानले माओवादीको अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुने र त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्ने उनले बताए।
उनले भने, ‘हामीले सरकारको नेतृत्व गरिरहेका छौँ, यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ। सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ। सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला।’
आफु नेतृत्वको सरकारले विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको उनले बताए। सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि सम्वोधन गर्नुपर्ने उनले बताए।
उनले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्ने र त्यसकारण आफुले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको बताए।
उनले भने, ‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ। विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो। सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्वोधन गर्नुछ। हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु।’