धनगढी। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्।
समाजवादी प्रेस संगठन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले चौधरीलाई रिहा गर्नुपर्ने बताएका हुन्।
संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङगाउनु राम्रो हुने उनको सुझाव छ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाई रिहा गर्न आवश्यक रहेको उनले दाबी गरे। उनले भने, ‘उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छ। ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन्। यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाइ छिटो टुंगो लगाउनु राम्रो हुन्छ।’
नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताए।
प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सैबलाई समेटर जानुपर्नेमा उनको सुझाव छ। उनले मध्यवधि निर्वाचनतर्फ जान नहुने र यसलाई मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे।
सुदूरपश्चिममा नेकपा (एमाले) नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ। कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।