काठमाडौं। सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ। आइतबार बिहान बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो।
बैठकमा सरकारका कामकारवाहीको समीक्षा भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।
उनले राष्ट्रपतिको विषय सत्ता गठबन्धनमा विमति नरेहको कारण आजको बैठकमा कुनै छलफल नभएको बताए।
उनले भने, ‘राष्ट्रपतिको विषयमा छलफल भएन। बाहिर आएका कुरा भ्रमपूर्ण छन्। सरकार गठन गर्दा हामीहरुबीच भएको सहमतिमा विमति छैन। छलफलबाटै टुंगो लाग्छ।’
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको र केही प्राविधिक कुरा मिलेमा उक्त पार्टी फेरि सरकारमा आउन सक्ने उनले बताए।
उनले गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको बताए।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए।