काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आजको आवश्यकता प्राविधिक शिक्षा भएको बताएका छन् । आज महेन्द्रनगरमा बैजनाथ माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले सामुदायिक विद्यालयमा प्राविधिक धारका विषय पठनपाठनमा जोड दिनुपर्ने बताए ।
“पढाइपछि जीविकोपार्जन हुने शिक्षा आजको आवश्यकता हो”, उनले भने, “पढाई अनुसारको रोजगारी पाउने र आफ्नो र परिवारको आर्थिक उन्नति हुने खालको प्राविधिक शिक्षामा जोड दिनु आवश्यक छ ।” उनले सामुदायिक विद्यालयमा पढाइको गुणस्तर सुधार गर्नुपर्ने बताए । “सामुदायिक विद्यालयको गुणस्तर बढाउन जरुरी छ त्यसका लागि शिक्षक विद्यार्थीको नियमित अन्तक्रिया हुनुपर्छ ।”
बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले आफू विद्यालयको गुणस्तर सुधारमा प्रतिबद्ध रहेको बताए ।बैजनाथ माध्यमिक विद्यालयमा प्राविधिकधारतर्फ कृषि, कृषिबाली विज्ञान, इञ्जिनीयरिङका कक्षा सञ्चालन हुँदै आएका छन् ।