काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन्।
शनिबारबाट काठमाडौंमा सुरु राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरूले नै भन्ने गरेका बताए।
उनले नेपालको निर्णायक नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरूले बताउँदै आएको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताए।उनले विद्यार्थीहरू राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन, हुल्लर अनुशासनहीन उत्पादन गर्ने संगठन नभई देशभक्त उत्पादन गर्ने संगठन भएको बताए।उनले आफ्नो पार्टीले देशबारे कसैसँग सम्झौता नगर्ने पनि दाबी गरे।
मन्त्री लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरूलाई आग्रह गरे।
उनले विद्यार्थी नेताहरू स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भए पनि पार्टीले सहयोग गर्न तयार रहेको तर त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए।
उनले काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने जिकिर गरे।राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य हुँ भन्नेलाई अनुशासनहीन हुने छुट नरहेको उनको भनाइ थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन विश्वविद्यालयका प्राध्यापकहरूलाई मोसो दल्ने र ताल्चा लगाउने संगठन नहुने बताए।