धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले घरमै पुगेर नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीका परिवारलाई भेटेका छन् ।
उनले आज बिहान चौधरीकी आमा र परिवारका अन्य सदस्यसँग घरमा पुगेर भेट गरेका हुन् ।भेटमा मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।
‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटोभन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने अभियानमा म आजैदेखि लागिसके’, उनले भने ।
शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेश सभामा नाउपा निर्णायक रहेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा नाउपा निर्णायक रहेको छ। यसअघि नेकपा एमाले नेतृत्वको सरकारलाई नाउपाले विश्वासको मत नदिएपछि एक महिनामै ढलेको थियो।मुख्यमन्त्री शाहले शुक्रवार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् ।
उनले काङ्ग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन् ।मन्त्रीमा नियुक्त भएकाहरूले पनि शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा र स्वतन्त्रबाट १,१ जना सांसद रहेका छन्।